कालिञ्चोकका घर–घरमा सोलार

कालिञ्चोकका घर–घरमा सोलार

दिलबहादुर केसी
दोलखा, १० चैत – कालिञ्चोक–३ की विमला थामीको टहरामा हिजोआज रातभर झलमल बत्ती बल्छ । उनको कटेरोको भित्र २ वटा र बाहिर २ वटा बत्ती बल्छ । टुकीको भरमा आजसम्म दिन कटाउँदै आएकी विमलाको परिवारमा हिजोआज बत्तीकै कारण खुसियाली छ ।

कालिञ्चोक–३ कै कुमारी थामीको टहरोमा पनि सोलारको प्यानल ठडिएको छ । उनको घरमा चार्ज गर्न ब्याट्री, कन्ट्रोल बक्ससमेत छ । कालिञ्चोक ७४० घरका लागि उज्यालो बनाउन नाम्सालिङ सामुदायिक विकास केन्द्रले सोलार प्यानलका वायरिङसहित जाडनसमेत गरी ४ वटा बत्ती बाल्ने व्यवस्था गरेको छ । सोलार जडानपछि गाउँ नै रातभर उज्यालोले अँध्यारोमुक्त भएको छ ।

“अहिले बत्ती कतिबेला जाला र आउला भन्ने चिन्ता छैन,” कालिञ्चोक–२ का आइतमान थामीले भने, “सोलार प्यानल घामले आफैं चार्ज हुन्छ, रातभर बत्ती बाल्दा रात पनि दिन झैं लाग्छ ।” कति दिन त हामी बत्ती बलेपछि रातभर पनि नाचगान गरेर बसेको उनले बताए ।

कालिञ्चोक दोलखाको दुर्गम गाउँ हो । यहाँ सीमान्तकृत थामी जातीहरूको बसोबास बढी छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको पोल गाडेको वर्षौं बिते तापनि लाइन नजोडेपछि सोलारबाट गाउँ नै झलमल भएको हो । चहकिलो उज्यालो हुने भएकाले उनका बालबच्च बेलुकीसम्म राम्ररी पढ्न थालेको उनले बताए ।

विनाशकारी भूकम्पबाट सबैभन्दा बढी क्षति हुने गाविसमध्येको १ गाविस कालिञ्चोक हो । कालिञ्चोक गाविसका भूकम्पले जगसमेत नरहने गरी घर भत्केपछि कालिञ्चोकबासी घरबारविहीन भए । घरमा बस्न सहयोगी संघ–संस्थाबाट प्राप्त त्रिपाल र जस्तासमेत स्थानीय स्रोतबाट टहरा निर्माण गरेका छन् ।

ज्याला मजदुरीबाट जीविकोपार्जन गर्दै आएका कालिञ्चोकवासीका लागि सम्पूर्ण घरमा सोलार र सुधारिएको फलामे चुलो जडान गरिदिएको नाम्सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम व्यवस्थापक राजन क्षेत्रीले बताए । उनले सोलारका लागि ढुवानीसहित ६५ लाखबराबर खर्च भएको उनले बताए ।

सोलारसँगै सुधारिएको फलामे चुलोले घर–घरमा धुँवामुक्त भएको छ । सुधारिएको चुलोले धुँवा बाहिर जाने र दाउरासमेत कम लागेको गृहीणीहरू बताउँछन् । सोलारले टहरामा सोलारले झलमल र फलामे चुलोले भूकम्पका पीडामा महलम लगाउने काम भएको कालिञ्चोकका माओवादी नेता कर्णबहादुर थामीले बताए ।

सोलारबाट बत्ती बल्न थालेपछि स्थानीयवासी सहरभन्दा पनि आफू सम्पन्न भएको महसुस गरेका छन् । सहरमा जाँदा बत्ती आउन जानेको ठेगान नभएको महसुस गरेका उनीहरू आफ्नोमा कुनै पनि बेलामा लोडसेडिङ तालिका नहुने भन्दै खुसी छन् । “हामी काठमाडौं जाँदा त त्यत्ति ठूलो सहरमा पनि राति अँध्यारो हुन्छ, हाम्रो घरमा अब कहिले अँध्यारो हुन्न,” अर्का निमछिरी तामाङले भने, “अब हामी दुर्गमका भए पनि उज्यालोमा सम्पन्न भयौं ।”

Published in Karobaar Daily. Link: http://np.karobardaily.com/2016/03/79347/